Monday, August 6, 2018

नेपाली कामदारले आफन्तलाई कोरियामै भेट्न पाउने, सकियो तयारी

रविन्द्र घिमिरे २१ साउन, काठमाडौं । नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले यसअघिको भेटमा कोरियन राजदूत पार्क योंगसिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।

सोमबार भएको भेटवार्तामा राजदूत पार्क योंग सिकले यो व्यवस्था लागु गर्न तयारी भईसकेको जानकारी दिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइ सकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको बताएको श्रम मन्त्रालयका सहसिचव प्रकाश दाहालले जानकारी दिए । कोरियाले यो योजनाको अाैपचारिक घोषाणा केही समयभित्रै गर्नेछ ।

कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्ने विश्वास सहित सरकारले यस्तो प्रस्ताव गरेको थियो ।यसअघिकै भेटमा कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारसँग पहल गर्ने बताएका थिए । सोमबारको भेटमा राजदूत योंगसिकले कोरियाले आफन्तलाई निश्चित समयका लागि कोरिया लैजान पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सरकारको छ ।लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाएपछि आत्महत्या लगायतका समस्यमा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुने परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्ने विश्वास सरकारलाई छ ।

भेटमा दुई देश वीचको सौहार्द सम्बन्ध र आपसी हितका विषयमा पनि छलफल भएको छ । मन्त्री बिष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकाले कामदारहरुको संख्या थप गर्न कोरियन सरकारलाई आग्रह गरे ।उनले कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुवीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

राजदूतले नेपाली कामदार इमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।उनले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।वैंकिङ माध्यमबाट विप्रेषणलाई स्वदेशमा ल्याउने प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको मनत्रालयका सहसचिव सह-सचिव प्रकाश दाहालले जानकारी दिए ।

Source: online khabar