Sunday, July 1, 2018

सि–आस्वा प्रणाली भनेको के हो ? यो प्रणालीबाट कसरी सेयर आवेदन दिने ? आइपीओ र एफपीओमा कसरी आवेदन गर्ने ?  



साधारण सेयर निष्कासनका लागि यतिबेला थुप्रै कम्पनी पाइपलाइनमा छन् । सेयर बजारमा दिनहुँ जसो नयाँ लगानीकर्ता आउने गर्छन् । त्यसमध्ये कतिपयलाई सामान्य  ज्ञानको समेत अभाव हुने गरेको छ । लगानी गर्नुअघि आधारभूत पक्षमा जानकारी राख्न जरुरी हुन्छ । प्राथमिक सेयर बजार दोस्रो बजार भन्दा जोखिम निकै कम अनि प्रतिफल अधिक लिन सकिने क्षेत्र हो । थोरै रकम भए पनि लगानी गरेर पनि आइपीओ भर्न सकिन्छ । 

तपाईंहरुसँग कम्तीमा  ५ हजार रुपैयाँ छ भने पनि यो बजारमा प्रवेश गर्न सक्नुहुन्छ। प्राथमिक सेयर बजार दोस्रो बजारमा छिर्ने माध्यम पनि हो । त्यसैले आज म तपाईहरुलाई सेयर शिक्षा अन्तर्गत प्राथमिक सेयर बजार र प्राथमिक सेयर बजारबाट वर्तमान अवस्थामा कसरी सेयर खरिद गर्ने भन्ने बारेमा केही जानकारी गराउन चाहन्छु ।  

प्राथमिक सेयर बजार भनेको के हो ?  

कुनै पनि पब्लिक कम्पनीले पुजी संकलन गर्नका लागि पहिलोपटक जारी गरेको वा निष्कासन गरेको सेयर कारोबार हुने बजारलाई सामान्यतयः प्राथमिक बजार भनिन्छ । अर्थात् पब्लिक कम्पनीले प्रथमपटक निष्कासन गरेको सेयरलाई आइपीओ  भन्निछ भने पब्लिक कम्पनीले नै एकपटक आइपीओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्छ भने त्यसलाई एफपीओ भनिन्छ । हामीकहाँ धेरैजसो एफपीओ प्रिमियम भाउमा आउने गरेका छन् ।

अंकित मूल्य भन्दा बढी भाउ राखेर सेयर बिक्री गरिएमा बढी मूल्यलाई सेयर प्रिमियम भन्निछ । यहाँ अंकित मूल्य भनेको एक सय रुपैयाँ हो । एक कित्ता आइपीओ १०० रुपैयाँमा खरिद गर्न सकिन्छ भने एफपीओ को मूल्य एक सय भन्दा बढी हुन्छ । तर एफपीओ अंकित मूल्य (१०० रुपैयाँ) मै पनि निष्कासन गर्न सकिन्छ । जस्तोः ग्रामीण विकास बैंकले अंकित मूल्यमै  एफपीओ ल्याउँदैछ । कम्पनीलाई पुँजीको आवश्यकता परेपछि सर्वसाधारणलाई कम्पनीको केही सेयर हिस्सा बिक्री गरेर  पुँजी संकलन गर्न आइपीओ र एफपिओ निष्कासन गर्दछन् । आइपीओ र  एफपीओ बिक्री गर्न कम्पनीहरुले मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक  तोकेका हुन्छन् । जस्तैः एनआइबीएल क्यापिटल, सानिमा क्यापिटल, एनमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल क्यापिटल, सिद्धार्थ क्यापिटललगायतका मर्चेन्ट बैंकलाई  बिक्री प्रबन्धकमा तोक्न सक्छ्न् । 

कुनै पनि कम्पनीले आइपीओ र एफपिओ निष्कासनका लागि दरखास्त लिने कार्य बिक्री खुला भएको मितिबाट सामान्यतयः न्यूनतम ४ र अधिकतम १५ दिनसम्म राखेका हुन्छन् । हामीहरुले यो ४ दिन भित्रमा आइपीओ खरिद गरिसक्नुपर्छ किने भने कम्पनीलाई चाहिने आवेदन परेपछि बिक्री बन्द हुन्छ । आइपीओमा न्यूनतम ५ हजार रुपैयाँको आइपीओ भर्न सकिने हामीकहँ चलन छ । तर यो भन्दा कम पनि गर्न नमिल्ने भन्ने चाहिँ होइन । प्राथमिक बजारबाट आइपीओ र एफपीओ खरिद गर्न पनि डिम्याट खाता अनिवार्य हुनुपर्दछ । डिम्याट खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीका कुनै पनि शाखामा  गएर  खोल्न सक्नुहुनेछ । डिम्याट  खाता खोल्नलाई एउटा फोटो र नागरिकताको प्रतिलिपि आवश्यक पर्दछ ।  


आइपीओ र एफपीओमा कसरी आवेदन गर्ने ?  

अहिले, पहिलाको जस्तो बैंकका विभिन्न शाखाहरु र आइपीओ, एफपीओ निष्कासन अनुमति पाएका बिक्री प्रबन्धकमा गएर घन्टौंसम्म लाइनमा बसेर सेयर आवेदन दिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।   

त्यसो भए अहिले कसरी सेयर आवेदन दिने त ?   

वर्तमान अवस्थामा २ तरिकाले तपाईहरुले सेयर आवेदन दिन सक्नुहुन्छ ।
पहिलो आस्वा प्रणाली र 
दोस्रो सि–आस्वा प्रणालीबाट।  

आस्वा प्रणाली भनेको के हो ?
यो प्रणालीबाट कसरी सेयर आवेदन दिन सकिन्छ ?   

सेयरको सावर्जनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा सेयरको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थाबाट मात्र दरखास्त दिनुपर्ने हुन्छ । दरखास्त फारम सम्बन्धित बैंक तथा  वित्तीय संस्थाले उपल्ब्ध गराउँछन् । यसरी आस्वा प्रणालीबाट तपाईहरुले सेयर आवेदन दिन सक्नुहुनेछ । सेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँट नहुन्जेलसम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकम मध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । सेयर बाँडफाँट भएको जानकारी दिएको बढीमा ३ दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँटमा परेको सेयरवापतको रकम निष्कासन तथा बिक्री प्रवन्धकको खातामा स्थानान्तरण गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।  

सि–आस्वा प्रणाली भनेको के हो ?
यो प्रणालीबाट कसरी सेयर आवेदन दिने ? 
 

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि–आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिनको लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि–आस्वा प्रणाली सुविधा लिन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेसन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेसन कोड नम्बर दिनेछ । यही कोड नम्बर प्रयोग गरी लगानीकर्ताले त्यसपछि बैंकमा नगई नै हरेकपटक आइपीओ र एफपीओ घरमै बसेर भर्न सक्नेछन् । तर अहिले सबै बैंकले सि–आस्वा सेवा भने दिइसकेका छैनन् । धमाधम यो सेवा सुरु गर्ने क्रमचाहिँ सुरु भएको छ । एक जना व्यक्तिले (एक पटकमा) एउटा कम्पनीको एउटैमात्र आइपीओ तथा एफपीओ मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पूर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिकरूपमा त्यो आवेदन खारेज गरिदिन्छ । यसरी तपाईहरुले घरमै बसेर आइपीओ तथा एफपीओमा सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । अहिलेसम्म नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक,  प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतले यो सुविधा दिएका छ्न् भने नेपाल बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले पनि छिट्टै यो सेवा सुरु गर्दैछ्न्।       
       
         (लेखक सेयर बजारका अध्ययनकर्ता हुन्)

 (नोट : सेयर बजारमा विभिन्न प्रकारका लगानीकर्ता हुन्छन् । कोही निकै पोख्त छन् भने कतिपय चाहिँ मध्यमस्तरका जानकार हुन्छन् । तर केहीले बजारको सामान्य पक्ष पनि बुझिनसकेका हुन सक्छन् । यस्तै बजारका बारेमा सामान्य जानकारी पनि नहुने नवप्रवेशी लगानीकर्तालाई ध्यान दिएर यो सामाग्री सम्प्रेषण गरेका हौं । बजारका विज्ञ पाठक र लगानीकर्ताहरुले यसलाई सोही रुपमा बुझिदिनु हुन आग्रह गर्दछौं ।)

No comments:

Post a Comment