Saturday, August 19, 2017

के साच्चै सहज र सरल छैन त् बैंकिंग सेवा ?


कोरियामा रेमिट्यान्स कारोबार गर्नेगरी नबिल बैंकसँग केइबी (Korean exchange bank, KEB ),
सिद्धार्थ बैंकससँग केइबी (Korean exchange bank, KEB ) ,
ग्लोबल आइएमई बैंकसँग कुकमिन (Kookmin, KB) र आइबिके (Industrial bank of Korea, IBK),
एनएमबि बैंकसँग कुकमिन (Kookmin, KB),सानिमा बैंकसँग हाना (Hana),
एभरेस्ट बैंकसँग उरी (Woori), नेपाल इन्भेस्टमेन्ट बैंकसँग कुकमिन (Kookmin),
राष्ट्रिय वाणिज्य बैंकसँग कुकमिन (kookmin), सनराइज बैंकसँग आइबिके (Industrial Bank of Korea, IBK)
र प्रभु बैंकसँग आइबिके (Industrial Bank of Korea, IBK) बीच सम्झौता भएको छ । 

तर यिनीहरुको प्रभावकारिता पनि गौण देखिन्छ । रेमिट्यान्स खाता बनाएर पनि हुण्डी मार्फत नै पैसा पठाउनेहरु धेरै छन्। धेरैको गुनासो यो छ कि बैंक खुल्ने दिन कम्पनि विदा हुँदैन कसरी बैंक सम्म जाने ? तर कम्पनीलाई पनि आफ्नो समस्या बताएर एक दिन २-३ घन्टाको लागि बैंकमा यो-यो कारणले जानुपर्ने भयो भनेर भन्ने हो भने छुट्टी नदिने जब्बर कम्पनी हुन्छ जस्तो लाग्दैन । कुरा यति हो इच्छाशक्ति हुनुपर्यो ।

खासमा बैंक खुल्ने एक दिन कम्पनीमा विदा मागेर नेपालको सम्बन्धित बैंक खातावालाको नाम, खाता नम्बर, पासपोर्ट र कोरियाको परिचयपत्र (Alien card), र फोन लिएर कोरियाको सम्बन्धित बैंक सम्म पुग्ने हो र पैसा पठाउने रेमिट्यान्स खाता, जस्तो इजी एकाउन्ट, एनिटाइम एकाउन्ट सजिलै बनाउन सकिन्छ । कोरियन भाषाको समस्या परे अंग्रेजी भाषा जान्ने र बुझ्ने कर्मचारी मार्फत पनि खाता खोल्न सकिन्छ, बैंक उपलब्ध हुन्छ । यो खाता बनाइ सकेपछी भने सम्बन्धित बैंक र खातामा पैसा पठाउन सहज र सरल छ । कुरा यत्ति हो हुण्डी र बैंकको दर रेट बुझेर हुण्डीमार्फत सस्तो पर्ने भन्दै हुण्डी रोज्नु भएन।

प्रविधी र टेक्नोलोजीको दुनियामा दक्षिण कोरिया नबर वानमै पर्छ। त्यसको सुरक्षित र भरपर्दो सेवाबाट हामीले पनि लाभ लिन सक्छौं । बैंकमा गएर मोवाइलमा इन्टरनेट बैंकिंग सेवा लिने हो भने (जुन अंग्रेजी र कोरियन भाषामा उपलब्ध हुन्छ) कोठामै बसेर पैसा पठाउन सकिन्छ। हुण्डीवालालाई फोन गरिरहनु पनि पर्दैन, पैसा नेपालमा पुग्छ कि पुग्दैन भनेर तनाव लिनु पनि पर्दैन र कुनै एटीएम मेशिन खोज्दै हिड्नु पनि पर्दैन । तर बैंकिङ प्रणालीकोको सिमा हो सम्बन्धित खातामा बाहेक अरु खाता वा अरु बैंक वा अरु स्थानमा पैसा पठाउन मिल्दैन। त्यतिबेला भने हुण्डीको प्रयोगको विकल्प छैन। कोरियामा रेमिट्यान्स/रेमिट कम्पनीहरु नहुनुको दुर्भाग्य यहि हो। हुण्डी एक अवैधानिक कारोबार हो, राज्यलाई ठग्ने मध्यम हो, हाम्रो कमाइको रेमिट्यान्स मात्रै देशलाई घाटा लाग्ने होइन, यसमा संलग्न कारोबारी व्यापारीहरुले वस्तुको मुल्यांकन थोरै अर्थात नेपालमा आयातित वस्तुहरुको न्यून बिजकीकरण गराएर राज्यलाई भ्याट र राजस्व पनि छलिरहेको हुन्छ। अवैधानिक हुण्डी यसैपनि जोखिमपूर्ण छ ।

केहि वर्ष अगाडी हुण्डी कारोबारी सोगेन्द्र घले नेपालीहरुको लाखौं खाएर फरार भए, अन्य करिबारी पनि करोडौं उठाएर सम्पर्क बिहिन भएको थुप्रै घटनाहरु छन् । कोरियामा रहेका विभिन्न व्यवसायमा संलग्न नेपालीहरु नै हुण्डीको कारोबारी अर्थात् एजेन्टहरु हुन्। यिनीहरुको व्यवसायमा समस्या देखियो भने दुखले कमाएको लाखौं रकम लिएर भाग्न, फरार हुन, सम्पर्क बिहिन हुन के बेर ? र हुँदै आएका पनि छन् ।

बैंक मार्फत पैसा पठाउन जारि गरेको सुचनाको समाचार लिंकमा कमेन्ट थियो “वर्षामा करिब एकडेढ लाख हुण्डी बाट नेपाल पैसा पठाउँदा फाइदा हुने रहेछ, दुखले कमाएको त्यो पैसा चुडामणी शर्मा जस्तो भ्रष्टलाई पोस्न किन बैंकबाट पैसा पठाउने ? किन राज्यलाई कर तिर्ने ?” भ्रष्टलाई किन पोस्ने ? प्रश्न ठिकै भए पनि दुइ-तीन महिनाको जम्मा गरेर ३-४ लाख एकै पटक हुण्डी मार्फत पठाउँदा हुण्डीवाला त्यो पैसा लिएर सम्पर्क बिहिन भए के गर्ने ? आफै अवैधानिक हुण्डीको प्रयोगकर्ता भए पछी कानुनि उपचार कहाँ खोज्ने ?

बैंकिंग रेमिट्यान्स प्रणाली सहज र सरल नै हो तर हुण्डी जस्तो सहज र सरल भने होइन र कोरिया बाट पठाएको पैसा नेपालमा छिटो भुक्तानी पनि मिल्दैन । हुण्डी जस्तो नेपालको प्राय जुनसुकै स्थानमा र सम्बन्धित खातावाला बाहेक फरक खाता वा व्यक्तिलाइ भुक्तानी दिन नसक्नु बैंकिंग प्रणालीको मुख्य कमजोरी हो । भने रेमिट्यान्स पठाउँदा लाग्ने दोहोरो शुल्कले गर्दा कामदारलाई पर्ने मर्का अर्को मुख्य समस्या हो । दोहोरो शुल्क चार्ज गरेर नेपाली एक लाख पठाउँदा करिब चार-पाँचहजार सम्मको फरक पर्नसक्छ ।
अर्को मुख्य कारण यहि चार- पाँच हजारको लोभ हो । दु:खले असिना पसिना भएर, गालीगलौज सहेर, भोकप्यास खपेर थ्री डी को काम बाट आउने प्रतिफल एकसयको पनि लोभ लाग्नु स्वाभाविकै हो । तर देश र राज्यप्रतिको दायित्व एउटा देशप्रेमी नागरिकले भने बिर्सनुहुँदैन ।

हामीले देश विकास खोजेका छौं, देश परिवर्तन भैदिए हुन्थ्यो भन्छौं, देश कोरिया जस्तै विकसित र सम्पन्न भैदिए हुन्थ्यो भन्ने चाहान्छौं, देशमा भ्रष्टाचार , दलाल, घुसखोरी, कमिशनवालाहरुको राज भयो भन्दै नेता तथा कर्मचारीहरुलाई गालीगलौज गर्छौं तर आफु आफै परिवर्तन भने हुन चाहादैनौ ।
देश बनाउनका लागि भन्दै राजनीति गरेका नेताहरुले देश लुटेका छन्, देशको आधा बजेट झ्वाम पार्ने चुडामणी शर्मालाई देशको कानुनि राज्य निर्माण गर्ने सर्वोच्च अदालतले सहज उन्मुक्ति दिन्छ, देश बनाउने सपना बाँडेर चुनाव जित्नेहरु यो वा त्यो बहानामा सेवा र सुविधा राज्यको ढुकुटीबाट लिइनै रहेका छन् । हो यी यस्तै खबरहरुले राज्यप्रति वितृष्णा चुलिन्छ स्वाभाविकै हो तर के त्यो वितृष्णाले हाम्रो देश विकसित बन्छ त् ? कि सानै अंशमा किन नहोस् परिवर्तन आफैबाट सुरु गरेर देश बन्छ ?


#Visionnepaltv

No comments:

Post a Comment