काठमाडौं, भदौ ३ – रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन् ।
सानैदेखि संगीतमा रुचि राख्ने सुरज थापा विभिन्न आरोह अवरोहको सामना गर्दै नेपाल आइडलको टप सिक्ससम्मको यात्रा तय गरेका हुन् । शुक्रबार नेपाल आइडलको मञ्चमा अन्तिम प्रस्तुति स्वरुप उनले पहिले नै प्रतियोगिताबाट बाहिरिएका सुरज तामाङसँग उपस्थित भएका थिए ।
विकट जिल्ला दैलेखमा जन्मेका सुरज थापाको परिवार अहिले भने नेपालगञ्जमा बस्दै आएको छ । २०४३ सालमा बुवा मानबहादुर थापा र आमा दिलमाया थापाबाट जन्मेका सुरज थापा नेपाल आइडलमा आउनुभन्दा पहिले थुप्रै संघर्ष गरेका छन् ।
आफू भारतीय सेनाको लाहुरे भएकाले सुरजका बुवाको चाहना छोरो पनि लाहुरे बनोस् भन्ने नै थियो ।
तर सुरज सानैदेखि संगीतप्रतिको चाहना र लगावका कारण बुवाको कुरा सुनेनन् । एसएलसीपछिको उच्च शिक्षा र सांगीतिक क्षेत्रमा पनि केही गर्ने उद्धेश्यले सुरज २०६० सालमा काठमाडौं आए । उनी भृकुटीमण्डपमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरे उनले ।
काठमाडौंमा बसेर अध्ययन, काम र गीत संगीतलाई एकैसाथ निरन्तरता दिनु सुरजका लागि एकदमै कठिन भयो । उनले अध्ययनलाई छाडेर काम र संगीतलाई निरन्तरता दिए । उनले एक अन्तर्वार्तामा दिएको जानकारी अनुसार उनले कपडा पसलमा काम गर्नेदेखि लिएर झोलामा श्याम्पु राखेर घर घरमा पुगेर बेच्ने काम पनि गरे । उनले आलु चिप्स पनि बेचे । संगीतमा जम्नका लागि उनले साना ठूला सबै काम गरे ।
जब उनले दोहोरीमा हार्मोनियम बजाउने काम पाए, त्यहीँबाट उनले औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरे । हार्मोनियमबाट सुरु गरेको दोहोरी साँझको काममा हल्का फुल्का गाउने पनि गरे । रेस्टुरेन्टमा पनि गाए उनले । तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा २ हुँदै उनी इन्डियन आइडलसम्मको यात्रा गरे ।
इन्डियन आइडलको तेस्रो चरणसम्म पुगेका सुरजलाई उनका प्रशंसकले नेपाली अरिजित सिंह पनि भन्ने गर्छन् । नेपालमा मात्रै होइन, इन्डियन आइडलको अडिसन दिन दिल्ली गएको बेलामा लाइनमा बस्ने प्रतियोगीहरुले सुरजलाई डुप्लिकेट अरिजित सिंह भनेका थिए ।
सांगीतिक क्षेत्रमा स्थापित हुने चाहनाले उनलाई कहिले काठमाडौं त कहिले मुम्बई पुर्यायो । सुरजले हिन्दी गीत पनि मिठो गाउँछन् । त्यसैले उनी भारतमा पो केही गर्न सकिन्छ कि भनेर लागे । तर उनले सोचेजस्तो भएन । साथीभाइको आग्रह र दबाबका कारण सुत्र ब्याण्ड स्थापना गरेका सुरज थापाले क्रन्दन एल्बम बजारमा ल्याए । त्यस एल्बमका सबै गीतहरु लोकप्रिय भए । अझ ‘बहुला हुँ म बहुला’ बोलको गीत एकदमै मन पराइयो । यो गीतको म्युजिक भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । त्यस्तै तस्विर तिम्रो, ए जाने माया पनि दर्शक तथा श्रोताले मन पराए । सुरज थापाले ‘बहुला हुँ म बहुला’ लाई हिन्दीमा ‘राँझा हुँ मे राँझा हुँ’ बोलमा गाए । त्यस्तै तिमी बिना पनि बाँच्न सक्छु बोलको गीत गाएका सुरज आफैले गीत लेख्ने तथा संगीत भर्ने पनि गर्छन् ।
सुत्र ब्याण्डबाट देशका विभिन्न ठाउँमा प्रस्तुति दिएका सुरज विभिन्न समस्याले गर्दा विदेशिन पुगेका थिए । एक वर्ष बहराइनको बसाईपछि नेपाल फर्केका उनले फेरि गीत संगीतलाई निरन्तराता दिएका थिए । नेपाल आइडलको अडिसनदेखि टप सिक्ससम्म पुगेका सुरजलाई संगीतमा लागर नै माटो र ढंगाको घरलाई पक्की बनाउने चाहना छ । उनी भन्छन्, ‘पहिले सबैका घर माटो र ढंगाका थिए । अहिले हाम्रो बाहेक सबैका घर पक्की भइसके । त्यो कच्ची घरलाई पक्की बनाउनु छ र आमाबुवाको आँसु पुछ्नुछ ।’
शुक्रबार नेपाल आइडलका मञ्चबाट बिदाई गर्नुपर्दा निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी भक्कानिएक थिइन् । त्यस्तै अर्का निर्णायक कालीप्रसाद बास्कोटाका आँखा पनि रसाएका थिए । प्रतियोगितामा टप फाइभमा पर्न सफल भए पनि पाँच प्रतियोगी बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, सागर आले र प्रताप दास सुरजलाई बिदाई गर्नु पर्दा निकै नै भावुक भएका थिए ।
क्लासिकल र सुफी गायनमा निकै नै पोख्त सुरज थापा पप र आधुनिक गीत पनि उत्तिकै मिठो गाउँछन् । शुक्रबार प्रतियोगिताबाट बाहिरिँदै गर्दा उनले भने, ‘चार महिनामा मैले नेपाल आइडलबाट जे पाएँ, त्यो मेरा लागि उपाधिभन्दा पनि ठूलो उपलब्धी हो । यहाँहरुले दिनुभएको माया र हौसला नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’
नेपाल आइडलमा झलकमान गन्धर्वको गीत ‘हे बरै’ गाएर सबैलाई रुवाएका सुरज नेपाल आइडलबाट बिदा भएर गए पनि नेपाली गीत संगति क्षेत्रमा एक उज्जवल नक्षत्रका रुपमा उदाउने सम्भावना देखिन्छ ।
Source : ujyaloonline.com
No comments:
Post a Comment